स्व. दुर्गाबाबु पाठक स्मृति संगीत अक्षय कोषको स्थापना

कर्तव्य पालनाको शिलशिलामा सडक दुर्घटनामा परि निधन भएका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा संगीत अक्षय कोषको स्थापना गरिएको छ । गायक, रचनाकार तथा संगीतकार समेत रहेका पाठकको स्मृतिमा सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृति अक्षय कोषको स्थापना गरिएको हो । स्वर्गिय पाठकका एकै व्याचका सशस्त्र प्रहरी निरीक्षकहरुले सामुहिक रुपमा रकम संकलन गरि डेढ लाख रुपैयााको अक्षयकोष स्थापना गरिएको सोहि व्याचका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । सो संगित कोषमा रहेको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी बलको नेपाल एपीएफ स्कूलमा संगीततर्फ प्रथम हुने एक जना छात्र/छात्रालाई सो पुरस्कार प्रदान गरिने छ । साथै यो कोषको सम्पूर्ण रेखदेख सशस्त्र प्रहरी परिवार महिला संघले गर्ने र संघको वार्षिकोत्सवमा सो पुरस्कार प्रदान गरिने छ ।

FB_IMG_1460340770534

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका स्व. पाठकका ‘पन्छी’ र ‘निन्द्रा लाग्दैन’ गरी २ वटा एल्बम बजारमा आइसकेका थिए । जसमा हजुरको देशमा, पलपल तिम्रै यादले, निन्द्रा लाग्दैन बोलका गितहरु यूट्युबमा समेत चर्चित छन् । जसमा उनले चर्चित गायिका अन्जु पन्तसाग संयुक्त स्वर दिएका छन् भने म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी र निता ढुंगानाले अभिनय गरेका छन् । प्राय सबै खाले गित गाउने क्षमता राख्ने स्वर्गिय पाठक यस अघि २०६०।६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारमा उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने चितवनमै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आरिष्टको उपाधी समेत हात पारेका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका पाठकले कानूनतर्फ समेत एल.एल.बीसम्मको अध्ययन पूरा गरेका थिए । क्रिकेटका अब्बल खेलाडी उनी फुटबल खेल्न, क्यारिकेचर गर्न समेत माहिर थिए । संगठनभित्र समेत अत्यन्त अनुशासीत कर्तव्यनिष्ठ, जेहेन्दार, पेशागत रुपमा दक्ष र समय अनुसार कार्य गर्न सक्ने क्षमता भएका अधिकृतका रुपमा चिनिएका स्व. पाठकको संगीत तर्फको रुचि लगाव र क्षमताको स्थायित्व र उनको सांगीतिक प्रतिभाको कदर र सम्झनामा संगीत कोषको स्थापना गरीएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी निरीक्षक स्व. पाठकको कर्तव्य पालनको शिलशिलामा गत चैत्र २८ गते धादिङको मलेखुमा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो ।

यस प्रकारको कार्यले संगित, गायन, बाद्यवादन, गीत रचना आदि सांगीतिक क्षेत्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ । यस अक्षय कोषको स्थापनाले उनको सांगीतिक यात्रालाई स्थायीत्व र स्मरणीय बनाउने सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।