गायक विकास उप्रेतिको स्वरमा सजिएको गीत तिमी फुल बगैंचाको, म रस खोजी हिंड्ने भँमराको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतका रचनाकार अष्ट्रेलियामा कार्यरत रहेका सञ्चारकर्मी राम रुवाली हुन् । रुवालीले छिट्टै नै गीति एल्बम निकाल्ने तयारी समेत गरेका छन् । नेपाली गीत संगीतको श्रीबृद्धिका लागि आफुले फुर्सदको समयमा गरेका सिर्जना श्रोतामाझ पस्कदै जाने उनको भनाई छ । वास्तवमै रोमान्टिक भावमा लेखिएको गीतलाई विकास उप्रेतिको आवाजले पूरै न्याय गरेको छ भने यसमा मोडलहरु पुष्प खड्का र नम्रता सापकोटाले सुनमा सुगन्ध थपिदिएका छन् ।
म्युजिक भिडियोको निर्देशन मनोज विष्टले गरेका हुन् भने सम्पादन टेकेन्द्र साहले गरेका छन् । किरण भण्डारीको संगीतमा बनेको गीतलाई जीवन्तता दिन छायाँकार ज्ञानेन्द्र शर्माले कुनै कसर बाँकी राखेका छैनन् । सिड्नीमा रहेको थन्डरस्ट्रोम रेकर्डसमा रेकर्ड गरिएको गीतमा नृत्य निर्देशन सन्तोष राजवाहकको रहेको छ । पछिल्लो समयमा अष्ट्रेलियाबाट नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिने क्रमको नयाँ कडीका रुपमा राम रुवाली उभिएका छन् । उनले आफ्ना सिर्जनाहरुमार्फत नेपाली गीतसंगीत क्षेत्रलाई अझ बढी सम्बृद्ध तुल्याउने आफ्नो योजना रहेको बताएका छन् । अष्ट्रेलियाबाट नियमित जस्तै गीत, म्युजिक भिडियो रिलिज हुने क्रम जारी छ भने पछिल्लो समय अष्ट्रेलियामै रहेका सर्जकहरुको प्रयासमा उडान नामक एल्बम पनि सार्वजनिक भइसकेको छ ।