एक दशकदेखि अमेरिका बस्दै आएका साहित्यिक स्रष्टा शिव पलाँसको म मर्दा को – को मलामी आए बोलको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउदै गएको समवेदना प्रति ब्यङ्य पनि गरिएको छ ।
नवगायक केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ , मिक्सिङ र मास्टरिङ गरेका हुन् । गायनमा उदाउदै गरेका केशव बादीले गजलका शब्दहरुमाथि न्याय हुने गरि संगीत सृजना गर्न र स्वर भर्न आफूले सम्पूर्ण कोशिश गरेको बताए । यस गजललाई पलाँस क्रिएशन युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरिएको छ ।
हाल अमेरिकाको नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस दुई दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशिल सर्जक हुन् । उनको मायाँ गर्नुको अर्थ गीति पुस्तक प्रकाशित छ । पलाँसका शब्दमा ख्यातिप्राप्त कलाकार दीप श्रेष्ठ , कर्ण दास , शिशिर योगी , बि बि अनुरागी , सन्जु थापा , प्रमोद खरेल देखि नयाँ पुस्ताका समिक्षा अधिकारी , रचना रिमाल र बाल कलाकार अनुजा कडरिया सम्मले संगीत र स्वर मिसाइसकेका छन् । माया गर्नुको अर्थ , बेहोशीमै छोडी गयौ , खोकी लाग्दा हररो , खुकुरीलाई अचानोमा , छोरी , गन्दै जाँदा पिरतीमा लगाएतका उनका गीत लोकप्रिय छन् ।