भनिन्छ- नारी सृष्टि हो । नारीको सौन्दर्य नै संसारको रंग हो । रंग बिना कुनै पनि जीवन खुल्न सक्दैन तर संसारलाई रंगीन बनाउने तिनै नारीहरु माथी नै हिंसात्मक घटना घट्न पुग्दा कस्तो अवस्था होला ? सोच्दा पनि रिंगटा लाग्छ, मन भक्कानिन्छ । समाजमा बढ्दै गईरहेको भिन्न भिन्न प्रकारका महिला हिंसाले सिंगो देशलाई रुवाईरहेको छ । साना साना बालिका देखि हजुर आमा समानका नारीहरु माथी बलात्कारका घटना समाचार बनेर दिनहुँ जसो हाम्रा कानमा ठोक्किने गर्दछन्। नारीलाई अझैपनि कठपुतलीको रुपमा नचाउन नपाउँदा निर्दोष बहिनी चेलीहरुले एसिड प्रहारको सामना गर्नु परिरहेको छ । कू-संस्कार, कुरीतिले जरा गाडेको हाम्रो समाजमा छाउपडी, बोक्सी,दाइजो, बाल विवाह, बहु विवाह आदि जस्ता कैयन् कूप्रथाको शिकारमा कैयौँ नारीहरुले यातना सहनु परिरहेको छ । आफ्नै घर परिवारबाट होस् या सामाजिक रुपमा होस्- प्रतिष्ठित भनिने वर्गहरुबाटै नारी स्वतन्त्रताको खिल्लि उडाईएको आभाष हुन्छ । महिला हिंसाका यस्ता बिविध खाले समस्या न्यूनिकरण गर्दै यसको समूल नष्ट गर्न सबै सबैको आफ्नो आफ्नो क्षेत्रबाट गरिने सहयोग, भूमिका उत्तिकै महत्वपूर्ण हुन आउँछ । यसै सिलसिलामा लामो समयदेखि आफ्नो पूरै जीवन महिला दिदीबहिनीहरु प्रति गरिने हिंसात्मक घटना बिरुद्धको अभियानमा डटेर खरो रुपमा लाग्नु भएका नेपाली समाजका दुई अग्रणी समाजसेवी तथा गायिकाहरु सोमा खत्री र सबिना श्रेष्ठले हालसालै नारी चेतनामूलक गीत- “बोकी सधैँ दुनियाँमा चेतनाको भारी….”को अडियो तथा भिडियो सार्बजनिक गर्नुभएको छ ।“समुन्नत महिला मञ्च नेपाल” नामक संस्थामा आवद्ध उहाँहरुको साथमा यस संस्थामा सकृय रुपले कार्य गरिरहनु भएका मेची देखी महाकाली सम्मका अन्य दिदीबहिनीहरुले समेत उहाँहरुलाई सघाउनु भएको छ । लोकप्रिय कलाकार तथा सांसद कोमल ओली ज्यू को प्रमुख अभिनयमा बनेको यो नारी चेतनामूलक गीतको भिडियोमा अधिवक्ता तथा कलाकार राजेन्द्र शर्मा, प्रहरी अधिकृत लोकेन्द्र श्रेष्ठ , पूर्व रक्षा सचिव देवेन्द्र सिटौला तथा समाजमा ख्याति कमाएका अन्य कैयौँ व्यक्तित्वहरु समेतले नारी हिंसा बिरुद्धको आवाजमा आवाज थप्नु भएको छ । गीत रचनाको पाटोलाई नियाल्ने हो भने अहिलेका चर्चित गीतकार देवदत्त भट्टको कलमलाई साँच्चिकै सलाम गर्नुपर्छ । नेपाली नारीहरुलाई आफ्नो हक अधिकारको लागि सदन सम्म पुग्न गीतकारले आव्हान गर्नु भएको कुरा अति सरल ढंगबाट जो कसैले बुझ्न सक्दछन् । सप्रेम सागरको मिठो शैलिको संगीतमा गायिका द्वय सोमा खत्री र सबिना श्रेष्ठलाई संगीतकार सप्रेम सागरले गायनमा साथ दिनु भएको छ । दिनेश अधिकारीको निर्देशनमा तयार गरिएको यस भिडियोमा जनक अधिकारीको दृश्य छायाकंन तथा लोकेश भाटको सम्पादन रहेको छ । समाजमा व्याप्त नारी हिंसा बिरुद्धको आवाजलाई उजागर गरेको यस गीत समाज सुधारको पक्षमा एउटा कोसे ढुंगा बन्न सकोस्, यस गीतमा रचिएका प्रत्येक अक्षरले, प्रत्येक शब्दले,प्रत्येक वाक्यले सम्पूर्ण व्यक्ति, समुदायमा सकारात्मक र न्यायिक उर्जा प्रदान गरोस् हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ ।