नेपाल राष्ट्रकी प्रथम गायिका, ठुमरीकी रानी, मेलवादेवी

लेखक: टीका भण्डारी
लेखक: टीका भण्डारी

ऐतिहासिक गायिका मेलवादेवी बिस १९९० साल तिरकी बहुचर्चित गायिका हुन् । भन्ने गरिन्छ- लोक संगीत, शास्त्रीय संगीतको बेजोड सम्मिश्रणयुक्त स्वर माधुर्य र यस प्रकृतिको जादुगरी आवाजले भरिएकी अमर र अजम्बरी गायिका नेपाली संगीतमा बिरलै जन्मिएलान । झन् पर जान्छु लै लै झन् माया लाग्छ बरी लै, आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा, माया मारी- मारी निष्ठुरीले, हाय मेरो परदेशी प्रियतम छोडेर जानु भो, यो जिन्दगीको के भरोसा, न घरलाई घर कहलिन्छ, भूकम्पको त्रास, ( नेवार भाषामा गाईएको गीत ) थापा न थली, श्री ३ महाराज सुन प्रभु, क्रय फुलबारी, आदि मेलवादेवीले गाएका उत्कृष्ट गीतहरु हुन् । सम्पूर्ण नेपालीहरुलाई आफ्नो स्वर शृंगारले बसिभुत तुल्याउंदै, स्वरको माध्यमबाट सम्मोहन छर्दै बि.स. २००७ साल अघिको समयमा नेपालीहरुको घर घरमा चर्चाको केन्द्रमा रहिन । अन्तत: कलकत्तामै जीवनको अन्तिम स्वास फेरेकी हुन् ।

बाल्यकाल :

मेलवादेवीको जन्म पुर्बी नेपालको रुम्जाटारमा भएको थ्यो । बि.स.१९५९ सालमा जन्मिएकी मेलावादेबी ४-५ बर्षको उमेरमै तोतेबोली मै गीत गाउँथिन । ७ बर्षको हुँदा उनि आफ्नी आमासंग काठमाडौँ आईन । गीत गाउने कला सानैदेखि ईश्वरीयरुपमा प्राप्त गरेकी छोरीलाई दरबारमा राख्न पाए उनको जीवन बन्थ्यो होला भन्ने सोच्थीन उनकी आमा । हुनपनि त्यसबेला लाहुर नगएको छोरो र दरबार नपसेकी छोरीको के काम भन्ने चलन नि थ्यो । यसर्थ, आफ्नी प्रतिभाशाली छोरीलाई दरबार भित्र्याउने चाहना या सोच राख्नु एक किसिमले जायज नै थ्यो उनकी आमाको । नभन्दै उनकी आमाले चन्द्रसम्सेरलाई आफ्नी छोरीको प्रतिभा जानकारी गराएर आफ्नो आग्रहमा सिंहदरवारमा राख्न सफल भईन । उनको बाल्यावस्था त्यहि सिंहदरवारको चौघेरा मै बित्यो । त्यसबेला सिंह दरबार भित्र संगीतका पण्डित ,उस्ताद अनि संगीतज्ञहरु निम्त्याएर तालिम दिने गरिथ्यो । मेलवा पनि तिनै संगीतका उस्तादहरुसंग संगीत सिक्न थालिन । उनको गायनमा बिशेष शौख भएकोले उनले गायन बिधामै आफुलाई परिष्कृत र परिमार्जित तुल्याउन थालिन । उनले सिंहदरबारमा संगीत सिक्दा त्यसबेला पण्डीत माधवप्रसाद उनका गुरु थिए । माधव प्रसाद उनलाई निकै छिट्टो गायनमा अभ्यस्त तुल्याए। बिस्तारै बिस्तारै उनको स्वर यसरि चल्न थाल्यो कि स्वयम् गुरु नै जिल खान्थे । ३-४ दर्जन गायक गायिका नर्तकीहरुको बिचमा मेलावाको बेग्लै शान मान र चमकदमक थ्यो । महारानी र प्रधानमन्त्री चन्द्रसम्सेर समेत मेलावाको गायन प्रतिभा र क्षमताको प्रसंसक भईसकेका थिए ।

https://youtu.be/B4es_OH2P6M

भारतीय उस्तादहरुको बिचमा मेलवाको प्रसंसा :
सिंहदरवारमा त्यसबेला समय समयमा भारतका नामुद संगीत उस्ताद गायक गायिकाहरु निम्त्याएर सांगीतिक कार्यक्रम गर्ने गरिन्थ्यो जसलाई संगीत जलसा भनिन्थ्यो । यस्ता संगीत जलसाहरुमा नेपाली कलाकारहरुको तर्फबाट मेलावालाई गीत गाउन लगाइन्थ्यो । त्यहाँ विदेशबाट निम्त्याइएका उस्ताद या गायक गायिकाहरु भन्दा मेलावाको प्रस्तुति कुनै मानेमा कम हुन्न थ्यो । अझ मेलवाको चारैतिर चर्चा र प्रसंसा सुनिन्थ्यो । स्वयम् बिदेशबाट अतिथिकारुपमा आएका उस्तादहरुसमेत मेलावाको गायकीको प्रसंसा गर्दथे। बिदेशी कलाकारहरुकै उपस्थितिमा उनले बक्सिसकारुपमा असर्फी समेत पाउंथिन ।

स्वर माथिको बक्र दृष्टी र दरबारिया कुचक्र :

सिंहदरवारमा उनको लोकप्रियता,चर्चा र गायनमा उनको बढ्दो आकर्षण र लोभलाग्दो प्रस्तुतिका कारण सिंहदरबार भित्रका अन्य कतिपय निकै जल्दै गएका थिए । आफु भन्दा पछि आएकी कलाकारले झनै छिट्टो लोकप्रियता हाशिल गरेको देख्दा स्वभाविक इर्श्या त हुन्थ्यो होलानि तर त्यो स्वभाविक इर्श्या यहाँ सम्म पुग्यो कि एक पटक उनको स्वर बिगर्दिने बदनियत स्वरुप उनले खाने पानमा अखाद्य पदार्थ हालेर स्वर नै बिगारिदिए । त्यति राम्रो स्वर काम नलाग्ने भएपछि सिंहदरवारमा निकै ठुलो हल्ली खल्ली भयो । दरवारमा उनको गायकी बिनाको कार्यक्रम सबैलाई खल्लो अनुभूति हुन थाल्यो । आफ्नो जीवनमा सबैभन्दा मन पराएकी गायिका को त्यस्तो अवस्था देखेपछि चन्द्रसम्सेरले विदेशबाट उनको घाँटीको उपचारको लागि डाक्डर मगाएछन् । वास्तवमा यो दरवारमा कुनै नौलो घटना थिएन । त्यहाँ कोहि पनि प्रतिभाशाली मानिस माथि कुनै न कुनै किसिमका तेजोबध गर्ने, निस्क्रिय तुल्याउने या षडयन्त्र गरेर दरबारबाट निकाला गर्ने गरिथ्यो । यसैको शिकार भईन मेलवा पनि । ति डाक्डरले पनि उनको स्वर पहिलाको जस्तै अवस्थामा फर्काउन सनेनन । यद्यपी बिस्तारै उनि गीत गाउन थालिन ।

सिंहदरवारमा मेलावाको बढ्दो लोकप्रियता, उकालो लाग्दो जीवन रहनसहन, चन्द्रसम्सेरको बढ्दो निगरानीसंगै अरु कलाकार उनको कारणले हुनु परेको फिक्कापन आदि कारणले मेलवा प्रति ईर्ष्या, कतिको जलन बढ्दै गएको थियो । उनलाई दरबार भित्र कै आसेपासेहरुले दमित गरि रहे जसको परिणाम स्वरुप स्वाभिमानी मेलवादेवी दरबार छोडिन ।

कलकत्तामा संघर्ष :

मेलावादेवीको जीवनमा भारतको कलकत्ता अविष्मरणीय रुपमा जोडिएर रहेको छ । सम्भवत कलकत्तामा उनका गीतहरु रेकर्ड नहुँदो होत उनि आज यो रुपमा रहने थिइन न होला नेपाली संगीतमा । दरबारिया षडयन्त्र, उनको बढ्दो लोकप्रियता र उर्वर सांगीतिक जिन्दगीको राप ताप र प्रभाव सहन गर्न नसकेका दरबारका आसेपासे हरुको बक्र दृष्टी बढ्दै गएपछि उनि एक स्वाभिमानी नारीमा दरबार प्रति नै बितृष्णा बढ्नु स्वभाविकै थ्यो । यता उनको दाम्पत्य जिवन पनि सोचे जस्तो रहेन । बिजेश्वरीमा रहंदा उनका दुवै छोराको निधन हुनु, श्रीमान कृष्णभक्तबाट एक आदर्श श्रीमती लाइ गरिनु पर्ने व्यवहार नगरिनु, कतिपय अवस्थामा दुर्व्यवहारको शिकार हुनु, यसको कारण उनको आर्थिक अवस्था दयनिय बन्नु, गुजारा चलाउन समेत धौ धौ हुनु, त्यसबेलाको राजनीतिक व्यवस्था, सामाजिक परिष्ठ्भुमी, नारि माथिको विभेद उनलाई मन नपर्नु, सामाजिक सदभाव र नारि माथि हुने शोषण उत्पीडनबाट उनीमा मुक्तिको छटपटी देखिनु आदि बिबिध कारणहरुले गर्दा उनि नेपाल बाहिर रहन मन पराईन । यस संगै उनि भित्र जे जस्ता सांगीतिक ज्ञान गुण र विद्वता थियो त्यसको वास्तविक पहिचान हुन नसकेको अनुभूति पनि थियो उनीमा । उनि राष्ट्रिय व्यक्तित्व बन्न चाहन्थिन नकि दरबारको चौघेरा भित्रकी ठुमरिकी रानी । सुरुवातिचरण मा उनले जीवन बुझेकी थीईनन तर जब बुझिन मैंले देशका लागि केहि गर्न र आफ्नो व्यक्तित्व निर्माण गर्न समेत दरबारको पर्खाल नाघ्नै पर्छ, आखिर त्यहि गरिन, यिनै जीवन मार्मिक भावहरु छातीभित्र बोकेर २ जना छोरीहरु काखी च्यापेर प्रबाश तिर लागिन- कलकत्ता ।

कलकत्ताको सांगीतिक रेकर्ड :
मनमा जतिसुकै आफ्नो देश प्रतिको गुनासा, आपत्ति र असमझदारीताका भावनात्मक आवेग उदबेगहरु भएता पनि कलकत्ताको भुइं टेक्ने बित्तिकै आफ्नै देश झल्झली आयो । आफ्नो प्यारो मातृभूमिको अटुट यादमा उनले ‘हिज मास्टर्स भ्वाइस रेकर्ड कम्पनी’मा ‘झन् पर जान्छु लै लै झन् माया लाग्छ बरिलै ‘ बोलको गीत गाईन । आखिर यहि गीत नै कुनै एक नेपाली गायिकाले गाएको प्रथम गीत थ्यो नेपाली संगीतको ईतिहासमा । यस गीतसंगै उनले सवारी मेरो रेलैमा बोलको अर्को गीत रेकर्ड गरिन । यी गीतहरु रेकर्ड भएको केहि समयमा नै प्रबासतिर सार्है नै लोकप्रिय बने, केहि समय पछि जब ति गीत नेपालमा सुनिन थाले गीति लोकप्रियता भुसको आगो झैं भित्र भित्र सल्किदै नेपालीहरुको घर घर,र मन मनमा पुग्यो । उनले कलकत्ताका विभिन्न समारोह हरुमा समेत गाईन । त्यहाँ उनको गायन बिलक्षणता अनुभूत गरेर उनलाई ठुमरिकी रानी सम्बोधन गरियो, विभिन्न पुरस्कार र पदवीहरु प्रदान गरियो ।

http://https://youtu.be/ARXS0RJBUEU?t=2

उत्तरार्धको जीवन :
मेलावादेबीको जीवन सदा एकनासको रहेन । बाल्यकाल राम्रो गाउने, मिठो खाने, नाम कमाउने, नेपाल जाने (काठमाडौँ ), सबैको प्रिय बन्ने सपनामा बित्यो । जब आफ्नी आमाको सहायताले राणा दरबार प्रवेश गरिन, उनको जीवन निकै संघर्षमय मात्र रहेन र दरबारिया कोपभाजनको शिकार समेत बनिन । उता पारिवारिक सुख शान्ति पनि मिलेन । श्रीमान उस्ताद भक्तकृष्ण मानन्धरसंग उनको दोश्रो बिवाह भएको थियो । भक्तकृष्णबाट २ छोरा २ छोरी त भए तर जीवन सोचे जस्तो सहज रहेन । क्षेत्रपाटीमा रहंदा दुई दुवै छोराको असामयिक निधन भयो त्यसले जीवनलाई अझ विरक्ति र निरास बनायो । पारिवारिक निरासा, कुण्ठा, सामाजिक विभेद, दरबारिया शोषण, आदिकारण प्रबासिन बाध्य हुन्छिन । आर्थिक विपन्नताले उनको जीवनमा पौंठे जोरी खेलिरहेता पनि उनले कलकत्तामा गएर आफुलाई सांगीतिकरुपबाट अभ्यस्त तुल्याईन, राम्रा राम्रा सुमधुर गीतहरु रेकर्ड गरिन, आखिर त्यहि नै उनको जीवनलाई कालजयी रुप प्रदान गर्ने आधारभुत बिषय बन्यो पनि ।

सांगीतिक रुपमा सबैको हाई हाई बनिरहँदा उनको जीवन भने सारीरिक रुपमा ओरालो लाग्दै थ्यो । उनि कम्जोर बन्दै गएकी थिइन् । उनीमा सामाजिक तथा मनोबैज्ञानिक दुवै दबाव र प्रभावहरु थिए । हुनपनि उमेर ढल्कँदै गए पछि उनको स्वरको रौनक घट्दै जानु, सारीरिक सुन्दरतामा ह्रास आउनु, उत्साह घट्दै जानु, स्वाभाविक नै थियो । केहि आर्थिक व्यवस्थापनका लागि उनि कलकत्ताको एउटा सङ्गीत बिध्यालयमा उनि संगीत प्रशिक्षण समेत गरिन, आफ्ना दुई छोरीहरुका बिवाह समेत गरिन । बि.स. २०१२ सालको एक दिनको कुरा हो । कलकत्ताको रोबर्ट स्थित घरमा खान बनाई रहेको समयमा स्टोभ पड्किन गयो, त्यहि अवस्थामा उनको निधन भयो । भौतिक संसारबाट उनि सदाका लागि अस्ताईन । तर उनको निधन भएको ५ दशक बिति सक्दा पनि उनको योगदान, गायन, गायकीका गुणहरु, सुर र पनको बारेमा बिस्तृत चर्चा हुने गर्दछ ।

पंतिकारको बिचारमा मेलावादेबी :

उनका गीतहरुमा मुलत लोक, शास्त्रीय तथा नेवारी संगीतको प्रभाव सम्मिश्रण भएको पाईन्छ । अधिकांस गायक गायिकाहरु मुलत लोक संगीतको जरो समातेर सांगीतिक भबिस्य खोजिरहेको सांगीतिक कालखण्डमा साँच्ची नै मेलवादेवीले शास्त्रीय गमक, मुर्च्छना र ठुमरीको समेत पृथक स्वाद प्रदान गर्दै नेपाली संगीतमा गहिरोरुपमा प्रभाव सिर्जना गरिन, सबको मनमा बसिन । सवारी मेरो रेलैमा बोलको उनको गीत आजका संगीतका शिखर उक्लिरहेका नव पुस्ताका गायक गयिकाहरुका लागि समेत उत्तिकै सुर प्रदायक र साधना माध्यमको आधारकारुपमा रहेको छ । यसले यति लामो आयु प्राप्त गर्नुमा गीत भित्रको बिषयबस्तु, तत्कालिन समसामयिकता, लोक संगीत र शास्त्रीयताको सुन्दर संयोजन तथा स्वर संगीत र रचनाको उत्कृष्ट त्रिबेणी नै मूल कारक हो भन्न सकिन्छ, जसमा लोक तथा झर्रा शब्दहरुलाई शास्त्रियताको परम्परागत लेपनद्वारा क्लिष्टता प्रदान गरिएको पाइन्छ । गीतका बीच बिचमा ठुमरीको उचाईयुक्त समायोजन यस भित्रको अर्को गीति आकर्षण हो । गीतमा आलाप मार्नु नै ठुलो कुरा रहेन तर त्यहि आलापलाई गीतको वास्तविक जीवनसंग या धुन पक्षसंग एकाकार गर्न सक्नु नै उनको सबैभन्दा जादुगरी खुबी हो । राणा दरबारमा कोपभाजनको शिकार बन्नुमा मुलत: मेलवादेबी र चन्द्र सम्सेर बिचको सुमधुर सम्बन्ध खासगरी चन्द्र सम्सेरकी रानीलाई पटक्कै मन नपर्नु नै थियो । राती अबेरसम्म मेलावाको गीत सुनेर चन्द्रसम्सेर बस्ने गरेको र आवस्यकता भन्दा बढी मेलावा प्रति अनुरागी देखिएको कारण नै त्यसकार्यबाट असह्या भएकी रानीको निर्देशनमा गोप्यरुपमा मेलावाले खाने पानमा सिन्दुर मिसाएर उनको स्वर पूर्ण नस्ट गर्ने कोसिस भएको भन्ने गरिन्छ । दरबारबाट हटाउन उनीमा विभिन्न मनोबैज्ञानिक दबाब समेत परेका थिए । भारतका त्यसबेलाका संगीतका महान उस्तादहरु समेत उनको गायकी र कलाकारिताको खुलेर प्रसंसक बन्नु, प्रवासका महत्वपुर्ण सांगीतिक सम्मेलनहरुमा उनको बिशिष्ट दर्जाको ठुमरी शास्त्रीय गायन प्रस्तुत गरिनु, उनलाई त्यहाँ ठुमरीकी रानी उपनामले सम्बोधन गरिनु साथै ठुमरीकी रानी उपाधि समेत प्रदान गरिनु, शहिद शुक्रराज शास्त्री जस्ता दिग्गज राजनीतिक चेतनशील व्यक्तित्वहरुसंग प्रगाड मित्रता गाँस्नु, २२ बर्षको कलिलो उमेर मै संगीत बिद्या आर्जन गरि राणा दरबारियाहरुको दुर्व्यवहार र शोषण उत्पीडन सहन गर्न नसकेर बिद्रोहस्वरूप दरबारबाट सदाका लागि बाहिरिनु, राणा दरबारको चौघेराबाट उम्किन सके मात्र आफ्नो कला प्रतिभा र शिपले नेपाली डाँडा काँडा र प्रबास समेत छिचोल्न सफल हुन सकिने अहं विश्वास लिनु, स्वाभिमानी, देशभक्त र जनप्रिय कलाकारको छविका साथ जिउने ईच्छा, र समर्पण भाव रहनु निश्चय नै मेलावादेवीलाई आजको दिनसम्म अमर गायिकाकोरुपमा जीवित बनाउने महत्वपुर्ण पक्षहरु हुन् ।

(लेखक: बरिष्ट संगीतकार तथा गायक, टीका भण्डारी जो  रेडियो नेपालको उपनिर्देशक पनि हुनुहुन्छ)