हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि नमुना बस्ती निर्माणमा जुटिरहेका बेला अन्य गायक तथा संगीतकारहरू पनि समाजसेवामा लागेका छन् । केही दिनअघि गायक प्रमोद खरेलले दोलखाको एउटा स्कुल भवन पुनर्निर्माण गर्न त्यहीँ गएर सांगीतिक कार्यक्रमसहित आर्थिक सहयोग प्रदान गरेका थिए ।
यसैक्रममा पपगायक एड्रियन प्रधान र उनका साथीहरू काभ्रेको होक्से भन्ने ठाउँमा रहेको जनता उच्चमावि पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन काठमाडौंमा गीतसंगीत प्रस्तुत गर्दैछन् । मिरमिरे युथ सोसाइटीको प्रस्तुतिमा ‘मिरमिरे शिक्षाका लागि संगीत’ आयोजना हुन लागेको हो । ‘शान्ति फेस्टा २०१६’ नाम दिइएको सो कार्यक्रममा एड्रियन र उनका साथीहरूका साथै, चर्चित संगीतकार अनिल शाही, गायिका मिलन अमात्य, रोज मोक्तानले गीत गाउने भएका छन् । जसमा निलम ढुंगानाले नृत्य प्रस्तुत गर्नेछिन् । कार्यक्रम असार १८ गते शनिबार दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा हुँदैछ ।
सो उच्चमाविको भवन गत वर्ष वैशाखमा गएको भूकम्पले ध्वस्त भएको थियो । स्कुलमा विद्यार्थी ५ सय ६० जना विद्यार्थीहरू हाल टहरामा पढ्न बाध्य भएकाले भवन पुनर्निर्माण गर्न यस्तो कार्यक्रम गर्न लागिएको मिरमिरे युथ क्लबका अध्यक्ष राजीव थापाले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रममार्फत १५÷२० लाख उठाउने लक्ष्य लिइएकोमा हालसम्म सात आठ लाख उठिसकेको छ ।