नायक मुकेश ढकालको अमेरिकामा अर्को अध्याय

सतिश चापागाईं (thenepaltoday.com)
बाल्टिमोर, अमेरिका  
नेपाली चलचित्रका दर्शकहरुका लागि प्रिय र चर्चित नाम हो -मुकेश ढकाल | र्याम्पमा मोडेलिंग गरेर शुरु भएको ढकालको अभिनय यात्रा टेलीसिरियल हुदै सफल ब्यबसायिक चलचित्रसम्म आईपुगेको हो | यिनै प्रिय कलाकार तथा नेपाली चलचित्रका नायक मुकेश ढकाल यतिबेला भने अमेरिकामा आफ्नो ब्यबसायिक जीवनको अर्को अध्याय कोर्न लागि परेका छन् |

संघर्षबाट प्राप्त एउटा उचाईलाइ चटक्क छोडेर फेरी अर्को संघर्षका लागि तम्तयार भएर अगाडी बढीरहेका छन् | लाखौं आप्रवासी नेपालीहरुले सपना बुनिरहेको संसारको शक्तिशाली यो देशमा नेपाली कला र संस्कृतिको पंख फ़िजाउन उनि चाहन्छन | त्यसैले ढकाल नेपाली समुदायको बाक्लो बसोबास भएका राज्यहरुमा आफै कार्यक्रमको आयोजना गर्नेदेखि अरुले आयोजना गरेका कार्यक्रममा सहभागी भएर सहयोग गर्दै आईरहेका छन् |
नेपाली चलचित्रका सफल नायकको उपस्थितिले आयोजकहरुलाई कार्यक्रम गर्न पनि सजिलो हुने गरेको छ | बिशेषगरी, दर्शक आकर्षित गर्नका लागि उनको नाम र उपस्थिति आयोजकका लागि फलदायी हुने गरेको छ |
नेपालको भोजपुर् जिल्लामा जन्मेका ढकालको हुर्काई र पढाई भने देशको राजधानी काठमाडौँमा नै भयो | शिक्षित बुबाको राम्रो जागिरले आफ्नो युवा अवस्थालाइ एउटा सकारात्मक र सिर्जनशील काममा लाग्न उर्जा र उत्प्रेरणा दिएको ढकालको विश्वास छ | ढकाल सम्झन्छन, “आर्थिक रुपमा पनि कहिल्यै अफ्ठेरो भएन साथै बुवाको नामले गर्दा सधै केहि त गर्नै पर्छ है भन्ने सोच हुन्थ्यो | त्यही सकारात्मक युवा सोच अभिनय र कलाकारिताको बाटोतर्फ मोडियो |” द नेपाल टुडेसंगको भेटमा मुकेशले भने |
उनको सानैको रुचि मुख्य दुई बिषयमा थियो | एउटा क्रिकेटमा र अर्को अभिनयमा | “या त खेलाडी बन्छु या हिरो अर्थात् नायक भन्ने मनमा सधै भईरहन्थ्यो |” मुकेशले भने, “क्रिकेट खेल त्यतिबेला रहरको मात्र बिषय थियो, अहिलेको जस्तो ब्यबसायिक बनिसकेको थिएन | त्यसैले परिवारको साथ र समर्थन पाउन सकिन | ईन्टर स्कुल र वडा स्तरिय प्रतियोगिता खेल्ने त गरियो, तर त्यो भन्दा माथि केहि भएन |”
क्रिकेट छोडेपछि उनको रहरको एउटै कुरा बाँकी रह्यो | त्यो हो -अभिनय | अब भने मुकेशले अभिनय गर्ने र चलचित्रमा नायक बन्ने रुचि र रहरलाई अब आफ्नो जीवनको धोको बनाउन थाले | काठमाडौँको मिनभवनमा प्लस टु पढ्दै गर्दा ०५६ /०५७ सालमा उनले पत्रिकामा एउटा बिज्ञापन देखे | लेखिएको थियो – ‘मोडेल चाहियो !’ अभिनय यात्राको शुरुवात यसरी हुन्छ भन्ने उनले सुनेका थिए | मुकेश पत्रिकामा लेखिएको ठेगानामा पुगे | उनीहरुले नै तालिम दिए र बिभिन्न समयमा बिभिन्न फेशन शो का लागि र्याम्पमा मोडलिंग गरे |
आकर्षक शरीर, हसिलो मुहार र मिजासिलो बोलीका धनी मुकेश साथीहरुका पनि प्रिय बने | एउटा मिल्ने साथीले उनका लागि टेलिसिरियलको डाईरेक्टरसंग भेटाईदियो | संगम भन्ने टेलीचलचित्रमा मुकेशले अभिनय गर्ने मौका पाए | त्यो टेली सिरियल प्रसारण भएन तर मुकेशको अभिनय यात्राको धोकाको ढोका खुल्यो | त्यसपछि मुकेशले नेपाल टेलिभिजनमा ‘दुई दिनको जिन्दगानी’ टेलीसिरियल खेले | ५२ भागको यो सिरियलमा उनले धनी बाबुको छोरा भएर अभिनय गरे | उनले पहिलो काम मै प्रमुख भूमिका पाएका थिए |
त्यसपछि मुकेशले दिपक रायमाझीको ‘बंश’ मा काम गरे | यस सिरियलमा उनले एउटा फोटोग्राफरको भूमिका निभाएका छन् | जसमा उनले फोटो खिच्दाखिच्दै एउटा मोडेलसंग प्रेममा फसेको रोल छ | उनले लक्ष्मीनाथ शर्माको ‘मोड’ मा पनि एउटा प्रमुख पात्र भएर खेलेका छन् |
टेलिसिरियलमा अभिनयको काम गर्दागर्दै उनका दर्शकहरु ह्वात्तै बढे | मुकेशलाई लोक र आधुनिक गीतको म्युजिक भिडियोहरुमा पनि खेल्नका लागि अफर आउन थाल्यो | “दुई दर्जन म्युजिक भिडियोमा काम गरें हुँला |” मुकेशले भने |
२०६४ साल तिरको कुरा मुकेशले ‘जीवनदाता’ भन्ने ठुलो पर्दाको चलचित्रमा एउटा आईटम डान्स गरे | लगत्तै उनलाई एउटा बंगाली चलचित्र खेल्ने अफर आयो | भारतको शिलीगुढ़ीमा ‘मा एर आंचल’ मा उनले मुख्य भूमिका निभाए | जसमा दुईटी नायिका थिए | एउटी बंगाली नायिका थिइन्, अर्की नेपाली चलचित्रकी स्थापित र अति चर्चामा रहेकी नायिका मेलिना मानन्धर |
यो चलचित्रपछि कलाकार मुकेश ढकाल ‘नायक मुकेश ढकाल’ भईसकेका थिए | नेपाली चलचित्रमा जमेको आईटम डान्स र बंगाली चलचित्रमा नायक भएका मुकेशको ‘रेजमी’ पावरफुल बन्दै थियो | तर उनलाई जापान जानुपर्ने भयो | जागिरको शिलशिलामा बुबा र आमा जापान भएकोले बुबाआमाको ईच्छा अनुसार मुकेश  चुलिदै गएको चर्चा छोडेर जापान लागे |
मुकेश जापान त थिए तर मन भने नेपालमा थियो | मन नेपाल हुनुपर्ने दुई मुख्य कारण थिए | एउटा कारण नेपाली चलचित्रको माया, अर्को कारण नेपाली नायिकासंगको प्रेम | उनी जापानमा छटपटाउन थाले | पानी बिनाको माछा जस्तै भएका मुकेशलाइ बाबा आमाका कलेज र नलेजका कुराले छुन छाड्यो | अर्कोतिर नेपाली चलचित्रमा आएका आफुसंगैका नयाँ नायकहरु जीवन लुइँटेल, आर्यन सिग्देलले राम्रो ब्यबसाय गरिरहेका र ब्यस्त भएको देख्दा उनलाई जापान बस्ने मन लागेन | एघार महिनाको जापान बसाई पछि उनी नेपाल फर्के |
नेपाल आए लगत्तै जेनी कुंवरको ‘हलचल’ मा काम पाए र मेलिनाको जीवन साथ |  आएकै बर्ष २०६५ को घटस्थापनाका दिन मुकेशको मेलिनाका साथ बिबाह सम्पन्न भयो | उनको चलचित्र जीवन र जीवन चलचित्र संगसंगै चल्न शुरु गर्यो | उनले भने “सबै सोचे जस्तै भयो | मन परेको काम गर्न पाएँ, मन परेको मान्छेलाइ जीवन साथी बनाउन पाएँ | घर परिवारको ठुलो साथ् मिल्यो | सफलता पनि एकपछि अर्को मिल्दै गयो |”
त्यसपछि शुशिल पोख्रेलको ‘निगरानी’ र मुनाल घिमिरेको ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ मा काम गरे | यहि तेस्रो चलचित्र उनको रिलिज भएको पहिलो चलचित्र हो | ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ बाट उनले सीजी डिजिटल फिल्म अवार्डमा ‘बेस्ट सपोर्टिंग एक्टर’ को अवार्ड हात पारे | सोहि रोलका लागि बक्स अफिस अवार्ड पनि हात पारे |
यत्तिकैमा मुकेशले सन् २०१५ मा अमेरिका आउने अवसर प्राप्त गरे | लस भेगासको NAB शो मा सहभागी हुन आए | चलचित्र क्षेत्रमा भईरहेका नयाँ नयाँ टेक्नोलोजीको प्रदर्शन र ज्ञान दिने यो शो मा चार दिनसम्म भाग लिए |
त्यसपछि मुकेश केहि समय अमेरिका मै रहेका आफन्त, साथीभाई र फ्यान दर्शकहरुका साथ् रमाउन थाले  | यहाँको नेपाली समुदायको माया र ममताले उनलाई यहि बसिरहन प्रेरित गर्यो | अमेरिकामा पनि नेपालीहरुको ठुलो जनसंख्या जम्मा भईसकेको छ | न्यु योर्क, क्यालिफोर्निया, टेक्सास, सिकागो, र मेरिल्याण्ड लगायत डी.सी मेट्रो क्षेत्रमा नेपाली हरुको बाक्लो उपस्थिति छ |  मुकेशले यिनै क्षेत्रमा काम गर्दा गर्दै समय बितेको पत्तो पाउन छाडे | यहाँका नेपालीहरुको आग्रह, माया र ममताका कारण आफुले यहि बस्ने र अमेरिकालाइ कर्म भुमी बनाउने निर्णय गरेको द नेपाल टुडेसंगको भेटमा बताए |
उनलाई अमेरिका बस्न मन हुनुको अर्को कारण यहाको ब्यबसायिक बाताबरण पनि हो | किनकि उनले नेपालमा उनले चलचित्रका साथमा ब्यबसाय पनि गर्न शुरु गरेका थिए | फर्निचर उद्योगमा हात हाले | चलचित्रबाट नाम र फर्निचरबाट दाम कमाउने उनको उद्देश्य थियो | तर फर्निचर उद्योगमा उनले मनग्गे समय दिन सकेनन | अन्तत: ब्यबसाय बन्द गर्नु पर्यो | चलचित्रहरु सफल बन्दै गए, चर्चा चुलिदै गयो |

ब्यबसायको घाटा र सेलीब्रेटी लाईफ स्टायलको तालमेल मिलाउदा मिलाउदै चलचित्रको आम्दानी ठिक्क भएको बिगत सम्झदै मुकेश भन्छन, “अब अमेरिकामा रहेका नेपालीहरुको साथमा रहेर केहि नया काम गर्न चाहन्छु | बचेको समय छोरी मेलिस्का र श्रीमती मेलिनालाइ समय दिन चाहन्छु |”

मुकेशका हिट मुभीहरुमा निगरानी, आफ्नो मान्छे आफ्नै हुन्छ, दुलही, पर्खि राख है, मनमनै मन पराएँ, बरदान,प्लान, लफडा, हाम्रो माया जुनीजुनीलाई हुन् | उनी अमेरिका आएकै २ बर्ष हुन लाग्यो तर उनका चलचित्र नेपाली बजारमा चर्चा मै छन्, केहि रिलिज हुदै छन् | उनको केहि महिना अगाडी रिलिज भएको मुभी ‘धुन’ हो | चलचित्र ‘गहिराई’ को रिलिज हुने दिन नजिकै आउदै छ | चलचित्र ‘एक्सीडेन्ट’ एडिटिंग कै क्रममा छ |
ढकाल अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था  नेपाली अमेरिकन कलाकार संघको  मेरिल्याण्ड राज्यको कार्यसमिति सदस्य छन् | उनी बाल्टिमोरमा रहेको नेपालीहरुको संस्था बानाको सदस्य पनि हुन् | यी दुवै संस्थामा उनले सक्रियताक साथ काम गरेका पनि छन् |
 नेपाली चलचित्र जगतकी सफल र चर्चित नायिकासंग बैबाहिक जीवनमा गासिएका मुकेशले श्रीमती मेलिनासंग नेपाली चलचित्रका लागि एकै साथ काम गर्ने अवसर प्राप्त गरेका छैनन् | त्यसो त सिताराम दुधको बिज्ञापन नेपालको अति नै चर्चित बिज्ञापन हो | जसमा यो जोडीको अभिनय  छ | अमेरिका मै बसेर यहाँका नेपालीको जीवन भोगाईलाई कथाबस्तु बनाएर एउटा चलचित्र बनाउने र श्रीमान श्रीमतीले अभिनय गर्ने उनको धोको छ | आशा गरौँ, मुकेशको यो धोको छिट्टै पुरा हुनेछ |