गायिका स्मिता दाहालको तेस्रो कोसेली स्वरुप रागिनी एल्बम माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्यततामा राजधानीमा बुधवार एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। योगेन्द्र मणी दाहालको एकल रचना र सुनिल मास्केको एकल संगीतमा सजिएको एल्बमका सबै ५ गीत स्मिताको स्वरमा सजिएको छ|अमुल कार्की ढलीको संगीत संयोजन रहेका सबै गीतको मिक्सिंग तथा मास्टरिङ्ग किशोर थापाले गरेका हुन्| उल्लेखनीय संगीतकर्मीको उपस्थिती रहेको बिमोचन समारोहमा माओबादी अध्यक्ष प्रचण्ड, नागरीक उड्ययान मन्त्री आनन्द पोखरेल, गीतकार यादव खरेल, गायक दीप श्रेष्ठ र गायक संगीतकार दीपक जंगमले एल्बमको एक साथ बिमोचन गरेका हुन्।

कार्यक्रममा स्मिताको एल्बम रागिनीमा समावेश एक गीत मलाई माया गर्ने मान्छे को म्यूजिक भिडियो समेत प्रिमियर गरिएको थियो। सहेन्द्र श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोलाई अलि भिन्न बनाउने उद्देश्यका साथ ५ केटा मोडल र एक केटी मोडललाई अभिनय गराईएको छ। नाताले नातिनी पर्ने स्मिताको ३ वटै एल्बम बिमोचन गर्ने मौका पाएको भन्दै खुसी बनेका नेता प्रचण्डले गायिकालाई सफलताको शुभकामना प्रदान गरेका थिए। ‘सानै देखीको गीतसंगितप्रतिको लगावलाई यसरी एल्बम निकालेर मूर्तरुप दिईरहेकी स्मिताले संगीतको फाटँमा नयाँ आयम भित्र्याउनेमा म ढुक्क छु’ प्रचण्डले भने।
यता गायिका स्मिता दाहाल पनि आफ्नो एल्बम रागिनीले आफुलाई नेपाली संगीत जगतमा स्थापित गर्ने तर्फ ढुक्क रहेकी छिन्। एल्बम भित्र मलाई माया गर्ने मान्छे, कोही फूल जस्ती, के नै गल्ती गरे, जिन्दगी रंगीन रहेछ र मेरो जीवनमा मायाको बोलको गीत समावेश गरिएको छ।