बरिष्ठ संगीतकार दिपक जंगमसंग संगीत दिवस बिशेष कुराकानी

9c35ddd8-bf35-416e-b45a-a011228af9a5२१ जुन अन्तराष्ट्रिय संगीत दिवसको चहलपहल हुदै गर्दा नेपालमा भन्ने शून्य प्रायनै रह्यो। नेपाली संगीतको स्तर खस्कदै जादा यसलाई उकास्नको लागी संगीत दिवसको अबसर पारेर न त सरकारी निकाय बाटै केही काम हुन सक्यो न त संगीत संम्बन्धि संघ संस्थालेनै उल्लेखनिय केही कार्य गरे। क्यालेण्डर र नारामा मात्र सिमित भएको संगीत दिवसले नेपाललाई छुदै छोएन्। पानामा मात्र ठूला कार्यक्रम बनाएर व्यवहारमा केही काम नहुदा संगीत दिवसले पनि सार्थकता पाउन सकेन यसै सेरोफेरेमा रहेर हामीले बरिष्ठ संगीतकार एवम् गायक दीपक जंगमलाई ५ प्रश्न सोधेका छौ,

२१ जुनलाई संगीतदिवसको रुपमा मनाईदै गर्दा नेपाली गीत संगीत क्षेत्र घराशायी अबस्थमा गुज्रिरहेको बेला यो दिवसलाई सार्थक बनाउन के गर्नुपर्थ्यो?

सुरुमा त २१ जुन संगीत दिवस हो भनेर आम मानिसहरुलाई थाहै छैन पहिले उनीहरुलाई पत्तो दिनु आबश्यक छ।सबैले थाहा पाएभने संगीतको बारेमा छलफल हुन्छ त्यसबाट समाधानको उपाय समेत निस्कन सक्छ त्यता तर्फ ध्यान दिन जरुरी छ साथै संगीत आज मात्र हैन हरेक दिनको आवश्यकता हो त्यसैले पनि आज मात्र गाउने बजाउने भन्दा पनि ३६५ दिननै उत्तिकै साधना गर्न जरुरी छ। दिवसलाई मनाउदै गर्दा दिवसले प्रवाह गरेको संदेशको समेत ख्याल राख्नु पर्छ देशले कस्तो गीत संगीतको खाचो गरेको छ त्यसबारे ज्ञान हुन नितान्त आवश्यक छ |त्यसबाहेक सधै भन्दै आईरहेको सरकारी निकायबाट समेत यसबारेमा काम चर्चा हुनु आबश्यक छ जुन अहिले शून्यको अबस्थामा छ। यसबाट संगीत क्षेत्र उभो कदापी लाग्दैन त्यसैले पब्लिकले मात्र संगीत दिवसलाई सार्थक बनाउन सक्दैनन त्यसैले पहिले माथिल्लो निकायको एक्सनको खाचो छ त्यसबाट मात्र सार्थकताको बाटोमा हिडाउन सकिन्छ। नत्र त आज बर्षकै लामो दिन दिनभरी गाउने बजाउने गऱ्यो बस्यो त्यो त हरेक दिन गरिन्छ नि यसबाट कुनै ठोस उपलब्धि हुन सक्दैन्। पहिले सरकारी निकाय ब्यूतनु पर्छ।

संगीत क्षेत्रलाई माथि उकास्न सरकार र संम्बन्धित क्षेत्रले के के गर्नुपर्छ?

जनमानसमा संगीत क्षेत्रप्रतिको संम्लग्नता उच्च छ। रुची टन्नैको छ गीत गाउने बजाउने तर बिज्ञताको अभाव छ त्यसैले सरकारले सुरुमा पूर्वधारको विकाश गर्नु जरुरी छ जसरी फिल्मको बिकाशको लागी चलचित्र बिकाश बोर्ड बनाएको छ त्यस्तै संगीतको बिकाशको लागी सरकारी निकायको आवश्यकता देख्छु म। एकेडेमीले मात्र के के गरोस। जागीर खान जाने ठाँउ भन्दा पनि संगीतको विकाश गर्ने ठाउ पहिले सरकारले बनाउन पर्छ साथै जतिपनि संगीत विज्ञहरु छन् उनीहरुले पनि आफ्नो स्थानबाट आम मानिसमा ज्ञान प्रवाह गर्न जरुरी हुन्छ साथै केहि संगीत सम्बन्धि निकायहरु स्थापना भएका छन। उनीहरुले पनि प्रभावकारी रुपमा काम गर्नु पर्छ। जनमानसले त आफ्नो स्थानबाट पक्का संगीतको श्रीवृद्धिको लागी काम गर्छनै। सरकारी निकायबाट संगीतप्रतिको राष्ट्रिय निति बनाउन ढिला भईसकेको छ।

प्रबिधि र स्तरको हिसावले अहिले संगीत क्षेत्र कुन अबस्थामा छ?

अब यहि स्थानमा संगीतको अबस्था छ भन्नै सकिने अवस्था हैन यो। प्रबिधिले धेरै फड्को मारिसक्यो अमेरिकामा रेकर्डिङ्ग हुने शैलीमा नेपालमा गीत रेकड हुन थालीसके। प्रबिधिको रफ्तारमा हामी पनि छौ तर समस्या के आईदियो भने नेपाल सरकारलाई थाहा छैन कस्तो गीत संगीत नेपाली गीत हो भनेर। स्तरको हिसावले त सबै अलमलमै छन् सुरुमा ग्राउण्ड लेभल देखीनै होमर्वक हुनुपर्छ स्तर निर्धारणको लागी। आजको दुनियाँको लागी प्रबिधि मात्र सबथोक हैन यो त आवश्यकता मात्र हो सबैभन्दा पहिले सरकारी तवरबाट संगीतबजारको लागी ठोस निर्णय हुनुपर्छ अनि मात्र स्तरको निर्धारण गर्न सकिन्छ नत्र त काम भन्दा कुरा बढी मात्र हुन्छ।

अहिले कुन बिधाको संगीत सन्तोषजनक छ?

धेरै प्रकारका गीतहरु आईरहेका छन् जुन समयको माग पनि हो। नेपालको आफ्नै मूलधारको संगीत पनि आफ्नो रफ्तारमा हिडिरहेको छ। युवाहरु माझ पश्चिमा गीत, फ्यूजनहरु लोकप्रिय छन यसले संगीतको स्वादमा बिविधता थपेको छ। सबै बिधाको गीतसंगतलाई हामीले उत्तिकै सम्मान गर्नु पर्छ यसमा सबैभन्दा ठुलो हात मिडियाको हुन्छ तर नेपालको मिडियाहरुले निष्पक्ष रुपमा काम गरिरहेका छैनन्। दुख गरेर सिर्जना गरेका सर्जकहरुलाई बिभेदजन्य काम हरु समेत भएका छन्। आधा गीत बजाउने सर्जको नाम नभन्ने जस्ता कार्यले कहिले संगीतको उत्थानलाई राम्रो हुदैन्। त्यसैले सबै मिडियाहरुले यता तर्फनी ध्यान  पुऱ्याउन पर्छ।अब संगीतको सबै बिधाको आफ्नो पन हरु हुन्छन् त्यसैले जसको आफ्नोपनसंग गीत मेल खान्छ उस्ले उहि गीत रुचाउछ त्यसैले सबै बिधा सन्तोषजनक मान्नुपर्छ।

अंग्रेजी र हिन्दी गीतहरु संसारभर फैलीसके तर नेपाली संगीत बजार देश भित्रैपनि खस्किसकेको छ। यसको अन्तरदेशीय र अन्तराष्ट्रिय पहुच बृद्धिको लागी के गर्न सकिन्छ?

हेर्नुस नेपालमा गीतसंगीत प्रमोशन गर्नुपर्ने एजेन्टले कुनै काम गरेको छैन्। लाखौ रुपैयाँ खर्च गरेर तयार पारेको एल्बमका गीतहरु श्रोताहरुले सुन्न पाउदैनन् त्यसै यस तर्फ मिडिया अगाडी आउनु पऱ्यो राम्रा गीतहरुलाई पहिलो प्राथमिकता दिनु पर्छ यसले संगीत क्षेत्र उकास्न टेवा पुग्ने छ साथै गीत संगीतको मार्केटिब गर्ने निकाय सरकारी तवरबाट खडा गरेको खण्डमा गायक गायिका स्वत रुपमा स्वस्थ्य प्रतिस्पर्धामा आउछन जसले नेपाली संगीतलाई भलो गर्छ। यता अन्तराष्ट्रिय पहुच वृद्धिको लागी पहिलो काम भनेको गुणस्तरीय मौलीक गीतसंगीत दिनु पऱ्यो। संसारमा कपी म्यूजिकको मागनै हुदैन संगीतमा भाषाले छेक्दैन त्यसैले नेपाली मूलधारका लोक शैलीका गीतहरुको प्रमोशन गर्नु पर्छ। यसका लागी सबैले आफ्नो स्थानबाट ईमान्दारीताको साथ काम गर्नु पर्छ।